प्रतिनिधिसभामा कांग्रेस र रास्वपाको सवाल–जवाफ, ‘चोर’को आरोप प्रत्यारोप
काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदको सवाल–जवाफ भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच सवाल–जवाफ भएको हो।
रास्वपा सांसद अर्यालले ‘चोर’ शब्द प्रयोग गरेपछि कांग्रेस सांसदले खतिवडाले पनि जवाफ फर्काएका हुन्।
सांसद अर्यालले काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिनुपर्ने बताए। उनले भने, ‘हामीले कस्तो समाज निर्माण गरेका छौँ,र गर्दैछौं। यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने छ।’ सांसद अर्यालले राजनीतिलाई पेसा बनाएर वषौंदेखि देशलाई दोहन गरिरहनेहरूले आफ्नो पेसा व्यवसाय गरी खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेको बताए।
त्यसपछि कांग्रेस सांसद खतिवडाले आफूहरूले कुनै सांसदको नाम किटान नगरेर भनेको भन्दै चोरको खुट्टा काटभन्दा खुट्टा झिके जस्तो गरेर केही सांसद प्रस्तुत भएको बताए। उनले कुनै पनि संस्थामाथि छानबिन गर्नुपर्छ भन्दा किन ठुलो स्वरले कराएका भन्दै प्रश्न गरे। उनले आफू अदालतबाट निर्दोष भएर संसदमा प्रवेश गरेको बताए।
शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद खतिवडाले सुमिरे टूर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको भनेर विषय उठाएका थिए।
उनले सुमिरे टूर एन्ड ट्राभल्सले विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद्मा सांसद किनेर पार्टीमा प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको आरोप लगाएका थिए।
त्यसको जवाफमा रास्वपा उपसभापति समेत रहेका सांसद अर्यालले खतिवडालाई चोरको आरोप लगाउँदै सुमिरे टूर एन्ड ट्राभल्स आफ्नो रहेका बताएका थिए।
Facebook Comment