बिपी राजमार्गः पुनःनिर्माणको प्रक्रियामा
काभ्रेपलाञ्चोक । गत वर्षको असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग यस वर्षको वर्षायाममा अवरुद्ध हुन नदिन विभिन्न वैकल्पिक उपाय अपनाउँदै अस्थायी संरचना निर्माण गरिएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपश्चात पहिलाकोभन्दा केही फिट उचाइमा अस्थायी रूपमा माटो भरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षाले क्षति हुन नदिन सतर्कता अपनाउँदै उपकरण र संरचना निर्माण गरेको जनाएको छ ।
काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबँसी, मङ्गलटार र माम्तीमा बाढीका कारण हुनसक्ने क्षति रोक्न ग्याबिन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छ्याउन ठूला बोल्डर तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ ।
वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनःनिर्माणका लागि ठेक्का लागेका खण्डमा निर्माण व्यवसायीको १५–१५ वटा उपकरणका साथै डिभिजनले डोजर, टिपर, लोडरलगायत सात उपकरण तयारी अवस्थामा राखेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए ।
गत वर्षको बाढीका कारण क्षतिग्रस्त बनेको बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकलाई चार खण्डमा पुनःनिर्माण गर्नेगरी सङ्घीय सरकारले प्रक्रिया अघि बढाएको छ । काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्ड दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने उनले जानकारी दिए ।
योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फ पुनःनिर्माण हुने सडकमध्ये डालाबँेसीबाट चारसय बेँसीसम्मको आठ दशमलव पाँच किमीका लागि रु एक अर्ब ४२ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको छ । काभ्रेपलाञ्चोकतर्फको चारसय बँेसीबाट भकुण्डेबेँसीसम्मको ११ किमी सडक पुनःनिर्माणका लागि प्राविधिक मूल्याङ्कनको काम भइरहेको उनले उल्लेख गरे ।
काभ्रेको वर्षेखोलाबाट डालाबेँसीसम्मको पाँच दशमलव पाँच किमी सडक जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारले पुनःनिर्माण गर्ने भएका छन् । सिन्धुलीको खाल्टे डिभिजन सडक कार्यालयले ठेक्का लगाएको नेपालथोकबाट वर्षेखोलासम्मको चार किमी सडक सम्झौताको चरणमा छ ।
क्षतिग्रस्त सडक निर्माणका लागि सङ्घीय सरकारबाट रु आठ अर्ब ५० करोड बजेट सुनिश्चितता प्राप्त भएको छ । काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीको एक खण्डका लागि रु एक अर्ब बजेट सुनिश्चितता भएको डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार हालको वर्षायाममा राजमार्ग पुनःनिर्माण सुरु हुँदैन । भकुण्डेबेँसीबाट नेपाल थोकसम्मको पुनःनिर्माण हुने सडक मध्यम लेनबाट डबल लेन बनाइने इञ्जिनियर योगेशले बताए ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि बिपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न भएको उक्त राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।
Facebook Comment