अमेजन प्राइम भिडियोमा चित्रा
काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न पाउने भएका छन् । वि.सं. २०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो फिल्म हाल प्राइम भिडियोमा स्ट्रीमिङमा उपलब्ध छ ।
अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट पनि यो फिल्म हेर्न सक्नेछन् । जस अन्तर्रगत २ सय भन्दा बढी देशका दर्शकले यो फिल्म हेर्न पाउने भएका छन् ।
फिल्मको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । यो फिल्म ४३ भाषामा सबटाइटल सहित रिलिज गरिएको छ ।
निर्माण पक्षले ‘चित्रा’ विश्वव्यापी रूपमा अमेजन प्राइममा रिलिज हुने पहिलो नेपाली फिल्म भएको दाबी गरेको छ । यसअघि केही नेपाली फिल्महरू अमेजन प्राइम युके वा युएसए संस्करणमा मात्र सीमित थिए, तर ‘चित्रा’ भने ग्लोबल प्लेटफर्म मा रिलिज भएको हो ।
फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय रहेको छ ।
सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्याप इन्टरटेनमेन्ट अस्ट्रेलियाले सहनिर्माण गरेका हुन् । फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । फिल्मको एसोसिएट निर्माता राज श्रेष्ठ हुन् ।
अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्मले एक रिटायर्ड बाबु र छोरीबीचको सम्बन्ध, भावनात्मक उतारचढाव र पारिवारिक सम्वन्धको कथा समेटिएको छ।
महेश पौडेलको छायांकन रहेको फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ ।
Facebook Comment