भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार छुः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन् ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) विद्यार्थी जिल्ला कमिटीको पाचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले धर्तीको एकजना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गर्ने हो भने जुनसुकै बलिदान गर्न पनि तयार रहेको बताए ।

उनले भने, ‘पार्टीका बारेमा केही मानिसले नकारात्मक टिप्पणीहरु गर्ने गरेका छन् । कसैले यो पार्टी चल्दैँन् भन्छन्, कसैले टिक्दैँन् भन्छन् । मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन् भने डराउनु पर्दैन् । यो धर्तीको एक जना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस जुनसुकै बलिदान गर्न पनि तयार छु ।’

यस्तै, उनले जीवनमा चुनौतीहरुको सामना गर्ने आँटका साथ अगाडि बढ्नुपर्ने भन्दै अनुशासन, नियम र विधिको शासनमा अगाडि बढ्ने बताए ।

उनले भने, ‘मैले भन्ने गरेको छु । म अनुचित कुराको पक्षमा कहिले पनि रहदिन, म जहिले पनि अनुशासन र नियमको पालना गर्ने, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने, कहिले पनि बदलाको भावनामा नहिड्ने, सबैलाई समेटेर लाने खालको मान्छे हुँ । अनि मलाई भन्छन् तपाई मान्छे चिन्नु हुदैँन् । जीवनमा यस्ता चुनौतीहरु आइरहन्छन्, यी चुनौतीको सामना गर्ने आँटका साथ अगाडि बढ्नुपर्छ ।’

कुभलो चिताउने, कुभलो गर्ने व्यक्तिवाद प्रवृत्तिलाई पराजित गर्दै अगाडि बढ्नुपर्ने पनि उनको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *