कांग्रेसको जनाधार खस्किँदै गयो : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताए ।

‘हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन् । नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन् । यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ,’ उनले भने ।

उनले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रुपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताए ।

‘हामी हिन्दू, बौद्ध, किराँत, प्राकृतिक पुजक धर्म संस्कृति मान्ने जनताको प्रतिनिधित्व गर्छौं । यही नै पार्टीको राइट टू द सेन्टर हो । कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्छन् । तर हामी आस्थावान् छौं । यही हाम्रो पार्टीको आधार हो, र यसको संरक्षण गर्नुपर्छ,’ महतले बैठकमा भनेका छन् ।

डा. महतले हाल पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा नेताहरूबीच एकअर्कामाथि आक्रमण भइरहेको, कार्यकर्ताभित्र आत्मबल खस्कँदै गएको र आन्तरिक विवादले जनताको विश्वास घटेकोप्रति पनि चिन्ता व्यक्त गरे ।

त्यस्तै, उनले सक्रिय सदस्यता अभियानको कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाए । ‘सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको छ । यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेका छन्,’ डा. महतले पार्टी बैठकमा भने ।

डा. महतले पार्टीले महिला संगठनलाई गाउँस्तरमा सशक्त बनाएर नेतृत्व विकासको अभ्यास गर्न सुझाव दिए ।

‘विदेश गएका युवाहरूको अनुपस्थितिमा गाउँघरमा महिला नै प्रमुख शक्ति हुन् । महिला संगठनमार्फत कांग्रेसको वास्तविक जनाधार निर्माण गर्न सकिन्छ,’ उनले भनेका छन् ।

उनले सरकारमा रहेका कांग्रेस मन्त्रीहरूको प्रदर्शन अरु दलका मन्त्रीभन्दा उत्कृष्ट देखिनु पर्ने र त्यसले जनतामा सन्देश दिनुपर्ने भनाइ पनि बैठकमा राखेका छन् ।

डा. महतले प्रदेश सरकारहरूमा नेतृत्वको कमजोरी रहेको उल्लेख गर्दै प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठाए । ‘प्रदेशमा सिनियर नेताको अभाव छ । अराजकता बढेको छ । यदि यसरी नै गयो भने प्रदेश संरचना प्रति नै जनविश्वास हराउने खतरा छ,’ उनले भने ।

उनले पार्टीको सांगठनिक संरचना, कार्यशैली र आर्थिक अनुशासनमा व्यापक सुधार आवश्यक रहेको पनि बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *