संसदबाट रास्वपालाई गृहमन्त्रीको प्रश्न– रवि लामिछाने भिजिट भिषामा अमेरिका गएका हुन् कि होइनन् ?
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भिजिट भिषामा अमेरिका गएका हुन् कि होइनन् भनेर प्रश्न गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रश्न गरेका हुन्।
रास्वपाले भिजिट भिसा र प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर केही व्यक्ति नफर्किएको भन्दै संसदमा विषय उठाएको थियो। रास्वपा सांसद सोविता गौतमले मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा केही व्यक्तिलाई स्पेनमै छाडेको बताएकी थिइन्।
त्यसको जवाफमा गृहमन्त्री लेखकले भने,‘मान्य रवि लामिछानेजी जो सम्मानित सदनको सदस्य पनि रहनुभएको थियो, अहिले एउटा परिस्थिति छ। उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो भन्ने सुनेको छु। भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो। मैले जान्न खोजेको के हो भने उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन?’
लामिछाने भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा गएको होइन भने के भिसामा गएका थिए जानकारी दिन पनि उनले रास्वपासँग आग्रह गरे।
उनले भने,‘यदि अनि भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन।’
गृहमन्त्री लेखकले भिजिट भिसा दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई धेरै ज्यादा नैतिकताको प्रश्न पढाउन हुन्छ कि हुँदैन भन्दै प्रश्न पनि गरे। उनले भने,‘नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने? यति कुरा मैले आजसम्म भनेको थिइनँ। तर साथीहरु अलि गर्न नहुनेतिर लाग्नुभा छ।’
तर रास्वपा सांसद गौतमले आफ्नो अभिव्यक्ति सच्याएकी छन्। एमालेका सांसदले संसद् बैठकमा र सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणका गएका को–को फर्किएन जवाफ दिनुपर्ने माग गरेपछि आज उनले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको बताएकी हुन्।
Facebook Comment