आजको मौसमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेनुको साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।
जसकारण अहिले देशका पहाडी भूभाग साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि देशभर मौसम साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ ।
कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Facebook Comment