सूर्यदर्शन सहकारी प्रकरणः आज सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउनसक्ने

 

५ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज सरकारी वकिलको तर्फबाट आज जवाफी बहस हुने भएको छ । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो ।थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने अदालत स्रोतको भनाइ छ ।

बहस अन्तिम चरणमा पुगेर फैसलाको मिति नजिकिएसँगै बुधबारबाटै शहीदचोक, जिल्ला अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पार्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । आज पनि सुरक्षा व्यवस्थालाई कडा पारिने र सरकारी कामका लागि हो भने कागजात देखाएरमात्रै प्रवेश दिइने प्रशासनले जनाएको छ ।राष्ट्रबैंक चोकदेखि कोमागाने पार्कसम्म, रत्नचोकदेखि मालपोत कार्यालयसम्म र मासबार हुँदै मुख्यमन्त्री कार्यालय छिर्ने चोकसम्म प्रशासनले निषेधित क्षेत्र तोकेर सवारी आउजाउ रोकेको छ भने कामको प्रमाण नदेखाइ नागरिकलाई छिर्न नदिने जनाएको छ ।२ दिनअघि अदालत गेटबाहिर अनपेक्षित गतिविधि भएपछि प्रशासनले बहस सकिन लागेपछि झनै सुरक्षा कडा पारेको हो । बुधबार पनि रास्वपाका कार्यकर्ता अदालत क्षेत्र प्रवेश गर्न खोजेका थिए तर प्रहरीले रोकेको थियो ।

लामिछानेसहित पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राइको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्नेछन् ।उनीहरु ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पुरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *