एचपीभी खोप एक डोज नै काफी

काठमाडौं । सरकारले गत वर्ष भदौमा किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ निःशुल्क दियो । सातै प्रदेशका केन्द्रीय अस्पतालबाट १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका १० हजार किशोरीलाई एचपीभी खोप दिइयो । त्यसबेला उक्त खोप दुई मात्रा दिइएको थियो ।तर विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी २२ माघदेखि सञ्चालन हुन लागेको देशव्यापी खोप अभियानमा भने एक डोज मात्रै दिइँदैछ ।विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीनवटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सिकोलिन ब्राण्डको हो । गत भदौमा पनि सिकोलिन ब्राण्डको खोप दिइएको थियो ।

तर यसपटक किन खोपको डोज घटाइयो ?

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख रहेका डा. अभियान गौतमले नयाँ अनुसन्धान, गाइडलाइन र खोप सल्लाहकार समितिको सुझावमा खोपको मात्रा घटाइएको बताए । ‘एक डोजले पनि पूर्ण रुपमा काम गर्ने अनुसन्धानले देखाएको छ,’ डा. गौतमले भने, ‘खोप लगाएपछि जो एन्टीबडी बन्नुपर्ने हो । त्यो एक डोज लगाए फरक नपर्ने देखियो ।’यसपटकको अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रासहित विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरी समेत गरी कुल १६ लाख ८८ हजार ७६८ जनाले खोप पाउनेछन् । त्यसका लागि गाभीबाट कुल १७ लाख ७० हजार २० भाइल खोप आउनेछ । हालसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप तीन चरण गरी १५ लाख भाइल आइसकेको छ । बाँकी दुई केही दिनभित्रै आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ । एचपीभी खोप अभियान १५ दिन (२३ माघ देखि ६ फागुन) सम्म चल्नेछ । १८ हजार ९०० विद्यालयलाई खोपका लागि केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थामा ८ हजार केन्द्र तोकिएको छ ।डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिने बताए । ‘माघदेखि विद्यालय तहमा गएर बालिका दिने योजना बनाएका छौं,’ गौतमले भने, ‘विद्यालय बाहिर भएका बालबालिकालाई पनि स्वास्थ्य संस्थाबाट खोप दिन्छौं ।’एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ ।

चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धुम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनु रहेका छन् ।चिकित्सकका अनुसार ३० देखि ४५ वर्षसम्म पुग्दासम्म ८० प्रतिशत एचभीपीको संक्रमण भइसकेको हुन्छ । महिला र पुरुष एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन ।

एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट पनि बचाउँछ । चिकित्सकका अनुसार एचपीभी विरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्छ ।एचपीभीबाट क्यान्सर भएकाहरूमा सुरुको अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्ने भएका कारण खोप र नियमित स्क्रिनिङ गराउन आवश्यक पर्ने चिकित्सक बताउँछन् । सरकारले सहज रुपमा खोप उपलब्ध गराउन नसक्दा निजी संस्थाहरुले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गर्दै आएका छन् । त्यसैले महिलाहरु उक्त खोपका लागि महंगो शुल्क तिर्न बाध्य छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *