बेलबारी भिडन्तका बेला राखिएको बम २१ वर्षपछि ‘डिस्पोज’

२५ पुस, विराटनगर। पूर्व–पश्चिम राजमार्गको मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ मालती पुल नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।राजमार्ग बिस्तार गर्ने क्रममा द्वन्द्वकालीन बम राखेको सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो। मालती पुल पश्चिम पट्टी सुरुङ खनेर राखेको बम सेनाले डिस्पोज गरेको हो ।

माओवादी केन्द्रका नेताहरुका अनुसार २०६० साल भदौमा माओवादी र सरकारपक्षबीच बेलबारीमा भिडन्त हुँदा सेनालाई रोक्न सो खण्डमा सुरुङ खनेर एम्बुस राखेको थियो ।राजमार्ग विस्तारका क्रममा विष्फोट हुनसक्ने भन्दै माओवादीका नेताहरुले नै जिल्ला प्रशासन कार्यालयमा द्वन्द्वकालको बम रहेको सूचना दिएका थिए।बिहीबार बिहान करिब ८ बजेदेखि खोजी सुरु गरेको सेनाको टोलीले दिउँसो सडक मुनी गाडिएको अवस्थामा चार वटा सिलिन्डर फेला परेको थियो। जसमा दुई सिलिन्डरमा बम थियो, दुई वटामा ग्यास मात्रै थियो।विस्फोटक पदार्थ भरिएको २ वटा सिलिन्डर बम भने सेनाको टोलीले डिस्पोज गरेको थियो ।

ग्यास भरिएका २ वटा सिलिन्डर थप अध्ययनका लागि नेपाली सेनाको टोलीले लगेको प्रहरीले बताएको छ।मोरङ प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले द्वन्द्वकालमै राखेको बम सेनाको टोलीले डिस्पोज गरेको जानकारी दिए। बिहान ८ बजेबाट अवरुद्ध भएको सडक बम डिस्पोजपछि साँझ ५ः३० बजेबाट सुचारु भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *